दमक,४ बैशाख । याक्थुङ साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनः सेसेमी से नाल्बो लिम्बू चुनिएका छन् । शनिवार दमकमा सम्पन्न प्रतिष्ठानको पहिलो अधिबेशनले साहित्यकार नाल्बोको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा गुमान सिंह सम्बाङ्फे, महासचिवमा मुसाहाङ अम्याङसा, सचिवमा रचना लाओती, कोषाध्यक्षमा भुवानीप्रसाद थेगिम तथा सदस्यद्वयमा बिष्णु केरुङ र राजकुमार आङदेम्बे सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित समितिलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सोहि अवसरमा प्रतिष्ठानले लिम्बू भाषा ,साहित्य तथा कला संस्कृतिमा योगदान पुरयाँएवापत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ बाट झापा, अर्जुनधारा ७ निवासी साहित्यकार नवल फाइबालीलाई र ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ बाट दमक १ निवासी पत्रकार दिल कुमार लाओतीलाई जनही रु पाँच हजार सहित सम्मान पत्रबाट सम्मानित गरिएको छ ।
त्यस्तै ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ वाट कमल गाउँपालिका ३ केर्खामा बस्दैआएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्र प्रदान गरियो ।
दमक १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सुमित्रा वाङदेल चेली, दुर्गा नेम्बाङ लुङा, दमक बहुमुखी क्याम्पस प्राध्यापक राधिका ओझा, कियाचु नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङ, लुङधुङ टोल अध्यक्ष याम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।