देशले कहिल्यै यति गम्भीर मोडको अनुभव गरेको थिएन, जति अहिले गरिरहेको छ । अभूतपूर्व रूपमा फुटेको नेतृत्व, विकल्पका नाममा खुलिरहेका दर्जनौँ समूह, दल र परिवर्तनको ठूलो आशा बोकेर उठेका जेनेरेशन–जेडको आन्दोलन। यी सबै एक–अर्काबाट टाढा हिँडिरहेका छन्, एउटै दिशातिर फर्किन सकिरहेका छैनन्। यति ठुलो मौका देशले पाएर पनि सबै अवसरहरू हावामा उडिरहेको छ। यही कारणले आज परिवर्तन चाहने, स्वतन्त्रता खोज्ने, न्याय र पारदर्शितामा विश्वास राख्ने पुस्ताले एकै स्वरमा बोलिरहेको छ । अब फुटेर होइन, जुटेर लड्ने बेला आएको छ र यही कुरा आउँदै गरेको निर्वाचनसँग जोडिन्छ।
पछिल्ला वर्षहरूमा नागरीक चेतनाको स्तर ह्वात्तै बढेको छ। भ्रष्टाचारविरुद्ध सबै एक हुन थालेका छन् । युवाहरू सरकारी संयन्त्रका लापरवाहीविरुद्ध खडा हुन थालेका छन्। राजनीतिक असफलताले थिचिएका नागरिकहरूले पनि नयाँ पुस्ताबाट उज्यालो खोजिरहेका छन् । तर बिडम्बना विकल्पका नाममा आएका युवाहरु जुट्ने भन्दा टुक्रिने बाटोमा हिड्न थालेका छन् । एउटै उद्देश्य बोकेका नेताहरू सामाजिक यथार्थलाई बुझ्नुभन्दा आफैलाई सही ठान्दै फरक बाटोमा उभिन थालेका छन् । यसले देशले पाउन सक्ने ठूलो मौका गुमाउने निश्चित छ किनकि वैकल्पिक नेतृत्व एक ठाउँ उभिन सके युवाको ऊर्जा एउटै थालमा खनिएर ठूलो शक्ति बन्न सक्छ । देशले एउटा स्पष्ट विकल्प पाउँथ्यो र पुराना नेताहरु एकै पटक बढारिने निश्चित थियो ।
आजको अवस्था एक किसिमले विडम्बनापूर्ण छ। परिवर्तनको आवाज उठाउने मात्रै होइन, परिवर्तन गर्ने कसम खाएका दर्जनौँ समूह उभिएर पनि एउटै दिशामा हिँड्न सकेका छैनन् । निडर युवाहरू उठे, तिनकै बीच मतभेद उत्पन्न, पुरानो प्रणालीविरुद्ध घोषणा गरियो तर वैकल्पिक प्रणाली बनाउनु अघि नेताहरू फेरि छुट्टिन थाले । यसरी टुक्रँदै जाँदा विकल्पहरू बढे जस्तो त देखिन्छ तर ती विकल्पहरूमा मार्गदर्शन देखिदैन, साझा लक्ष्य देखिदैन । त्यही भएर जनतामा उभिएको ठूलो आशा फेरि निराशामा बदलिदैछ ।
केही वर्षयता जनताले “नयाँ” भन्ने सुने भने विश्वास गर्छन्। तर “नयाँ” नाम लेखेर र भनेर पुग्दैन, नयाँ अभ्यास, नयाँ विचार र नयाँ एकता चाहिन्छ।
जेनेरेशन जेडले भविष्य खोज्दै यति ठुलो मुल्य चुकाएर आन्दोलन गर्यो। देशले बाटो बदलोस भनेर सडकको भिडबाट आवाज उठायो।त्यही आन्दोलनमा कतिका सपना टुटे, कति परिवारले छोराछोरी गुमाए। आन्दोलनले शहिद जन्मायो, न्यायका लागि आवाज उठाइरह्यो, उठाईरहेको छ । तर उनीहरूले आज सबैभन्दा ठूलो अन्याय यही देखिरहेका छन। जसका लागि उभिएका, त्यही मानिनेहरू आपसैमा नजिक आउन सकेका छैनन् । जब नयाँ पुस्ताले क्रान्ति गर्छ, उनीहरूले विकल्प होइन, समाधान खोज्छन्। तर समाधान खोज्नेहरू नै टुक्रिन थालेपछि आन्दोलनको अस्तित्व समाप्त हुदै जान्छ । जेन्जीका आँखामा आज पनि त्यही आगो छ। तर त्यो आगो सल्काउन हैन उज्यालो दिन नयाँ पुस्ताका नेतृत्वहरू एक ठाँउमा उभिन आवश्यक छ ।
आगामी निर्वाचन केवल कुर्सी र राजनिति बाँडफाँडको खेल होइन। यो पाँच वर्षको भविष्य मात्रै पनि होइन यो दुई दशकको दिशानिर्धारण हो। यो निर्वाचनमा जनताले पुरानालाई चुनौती दिनेहरूलाई हेरिरहेका छन्। युवाहरूको क्षमता, पढेको पुस्ताको विश्लेषण, विदेशमा पसिना बगाएका नागरिकहरूको अपेक्षा सबै एकै ठाउँमा जोडिन सक्छ। तर यो सम्भव त्यतिबेला मात्रै हुन्छ जब नयाँ मानिनेहरू, स्वतन्त्र धारका समूहहरू, आन्दोलनमा उभिएका निडर युवाहरू एक–अर्कालाई प्रतिस्पर्धी होइन, सहयात्री ठान्छन्। हिजो–आज भएका फुटका कारण मत विभाजित हुन्छ। मत विभाजित हुँदा देश फेरि पुरानै नेतृत्वतिर फर्किन्छ। त्यसैले अब विकल्प भनिएकाहरु कसैले पनि एक्लै जित्छु भन्ने सोचको अध्याय बन्द गर्नुपर्ने बेला आएको छ।
एकता केवल राजनीतिक रणनीति होइन। यो आन्दोलनसँगै उठेको बलको सम्मान हो। शहिदको रगतको मान हो। फुटेका आवाजहरूले क्रान्ति ल्याउन सक्दैनन्। तर एकै स्वरमा बोलेको जनताले व्यवस्थालाई नै नयाँ रूप दिन सक्छ। देशमा आर्थिक संकट छ। बेरोजगारी चरममा बिन्दुमा छ। युवा विदेशिने दर दैनिक बढ्दो छ। भ्रष्टाचार संस्थागत बनेको छ। यस्ता अवस्थामा व्यक्तिगत महत्वकांक्षाले होइन, सामूहिक उद्देश्यले नै मार्ग देखाउन सक्छ। त्यही उद्देश्यले मात्रै नयाँ पुस्तालाई एक ठाउँ उभ्याउन सक्छ। त्यही उद्देश्यले मात्रै निर्वाचनमा बलियो विकल्प दिन सक्छ। त्यही उद्देश्यले मात्रै जनता र देशले मागेको न्याय प्रदान गर्न सक्छ।
नयाँ राजनीतिमा शुद्धता र अन्तरात्माको आवाज अझै बाँकी छ। पुराना जरा सुकिसकेका ठाउँमा नयाँ टुसा उम्रँदैछ। युवाहरू विचारले मात्र होइन, क्षमताले पनि बलिया छन्। विदेशमा बसेर हेर्दा देश कस्तो चलिरहेको छ भन्ने स्पष्ट हुन्छ। अर्थतन्त्र, नीति, प्रशासनिक क्षमता, पारदर्शिता सबैको तुलना भएपछि, परिवर्तन कि स्थिरता चाहिन्छ भनेर जनताले निर्णय गर्छन्। त्यही कारणले विश्वभरबाट फर्किएका युवाहरूले गर्ने योगदान अझै बढ्न सक्छ। तर उनीहरूको योगदान एक–एक ठाउँमा फुटेर गए भने त्यसले देश बदल्न सक्दैन झन भड्खालोमा पर्ने निश्चित छ ।
अब आउँदो निर्वाचनलाई केन्द्रमा राखेर सबै नयाँ शक्तिहरू, स्वतन्त्र समूह, युवा अभियानकर्ता, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका व्यक्तित्व, आन्दोलनमा बलिदानी दिन तयार भएकाहरू सबै एउटै मोर्चामा उभिनुपर्ने समय आईसकेको छ । यी सबै मिलेर एउटा साझा प्लेटफर्म बन्यो भने देशले दशकौं पछिको सबैभन्दा बलियो विकल्प पाउनेछ र मात्र त्यसपछि जनताले आशा गर्न पाउनेछन् कि अब देश पुरानै मोडमा फर्किँदैन अनि जेनेरेशन जेडले दिएको बलिदान न्यायमा बद्लिनेछ र आन्दोलनका घाईतेहरु र शहिदको रगतले अर्थ पाउनेछ।
देश भोलि कसरी चल्नेछ भन्ने निर्णय अहिलेको एकतामा निर्भर छ। फुटेर हिँड्दा सबैले हार्छन्। जुटेर हिँड्दा देश जित्छ। आउँदो निर्वाचन हाम्रो भोलिको उज्यालो हो। नयाँ भनिएका, सक्षम, इमानदार, अनुभवी सबै एउटै ठाउँ उभिन सके भने यो देश बदलिन्छ। नत्र फेरि उहि पुरानै निराशाको चक्र दोहोरिन्छ जुन तिन दशकबाट दोहोरिरहेको छ ।
अब व्यक्तिले होइन, उद्देश्यले जित्नुपर्ने बेला आईसकेको छ । अब नामले होइन, नियतले मूल्यांकन गर्ने समय आएको छ । अब फुट्ने होइन, जुट्ने संस्कार देशले खोजिरहेको छ। यही नै हो अहिलेको पुस्ताले खोजेको न्याय । यही नै हो आन्दोलनले मागेको बलिदानको सम्मान । यही नै हो देशलाई अब आवश्यक पर्ने सबै भन्दा ठुलो साझा विकल्प ।