दमक,१ बैशाख । दमक -६ मा रहेको भिसी क्याप्टेन राम बहादुर बेघा लिम्बू प्रतिष्ठान तथा किरात युमा माङहिमको छैटौं साधारणसभा सम्पन्न भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष मुन्धुमविद हरि हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा मंगलवार साधारणसभा सम्पन्न गरिएको हो ।

साधारणसभाको उद्घाटनमा प्रमुख अतिथि चोङबाङले महागुरु फाल्गुनन्द लिङ्देनको तस्वीरमा माल्यार्पण गरि कार्यक्रम शुरु गरिएको थियो । उनले किरात धर्म र इतिहासका बारे चर्चा गरेका थिए । उनले प्रतिष्ठानलाई यस क्षेत्रको नमूना संस्थाको रुपमा विकास गरेर लैजान समितिलाई सुझाव दिएका छन् ।
कार्यक्रममा संस्थाकी दाता संरक्षक तथा कोषाध्यक्ष मनकुमारी पन्दाक बेघाले संस्थाको आर्थिक बर्ष ०७६-०७७ को वार्षिक प्रतिवेदन पेश गरिन भने कार्यक्रमलाई बयोवृद्ध हस्तबहादुर वेघा, उपाध्यक्ष गुमानसिंह सम्बाहाम्फे, मुल पुजारी सुर्य बेघा, सल्लाहकार मेहेरमान लिङदेनले आ–आफ्ना विचार राख्दै शुभमकामना दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष मोहन माङथेवेको अध्यक्षता र सहसचिव कविन्द्र शेर्माले सञ्चालन गरेका साधारणसभामा प्रतिष्ठानको नयाँ चार जना आजीवन सदस्यहरु इन्द्र इम्बुङ, धनकुमार इम्बुङ, लक्ष्मी इम्बुङ र शान्ता थोप्रा लिम्बुलाई सदस्यता प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।