बिर्तामोड , १५ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन आउन अब एक दिन मात्र बाँकी छ । निर्वाचनको घडी आउनै लाग्दा दुवै समूहका उम्मेदवारहरुले प्रचारप्रसार लगायतका गतिविधि तीव्र पार्दे लगेका छन् । चुनावी मैदानमा देखिएका दुवै समूहका प्रतिष्पर्धीले आफनो जित हुने दावी गरिआएका छन् । तर ,दुवै समूहका उम्मेदवारहरु निश्चित राजनीति दलबाट उम्मेदवार भएकाले पनि त्यसको लेखाजोखा यतिखेर चर्चाको विषय वन्न पुगेको छ । मूलत देशैभरि नेकपा विभाजनमा रहेपनि यहाँको निर्वाचनमा भने व्यवसायीहरु नफुटेको भनेर मैदानमा उभिएका छन् । तर मनै देखि स्वम उम्मेदवारहरु भने निर्धक्क भन्न सकिरहेका छैनन् ।

राप्रपाको साथबाट कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीको प्यानलाई हराउने दाउमा रहेका संयुक्त व्यावसायिक प्यानलका उम्मेद्वारहरु निचोरिएका रुपमा देखिएका छन् । चिरा परेको नेकपाको दुईवटा समूहलाई थुम्थुम्याएर संयुक्त प्यानल बनाएपनि एकले अर्कामाथि बिश्वास गर्ने आधार बनेको छैन । फाटिसकेको मन जोड्ने संभावना नै छैन । ‘पछि पार्टी फुट्ने कुरा निश्चित छ , अहिले दुख गरेर जितायो, जितेपछि घात पक्कै गर्छन् आफूहरुलाई छोडेर अर्को पार्टीमा जान्छन् ’यस किसिमको अविश्वास र शंकाले उनीहरुको मनमा घर गरेको पाइन्छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि नेता वामदेव गौतमले अहिले राजधानीमा पार्टी एकताको नाटक मंचन गरिरहेजस्तो ‘नहुने कुरामा वल गर्दा व्यर्थ हुने ’कुरा स्वयं उम्मेद्वारहरुले बुझेका छन् । त्यसमा मतदाताहरु पनि सचेत छन् ।
नेकपाको दुई समूह र त्यसमा थपिएर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल आग्रह र पूर्वाग्रहले भरिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेर चुनाव जितेपनि काम गर्न नसकेको यथार्थ तीनतिरको संयुक्त प्यानलको हविगत पनि पछि त्यस्तै हुने आममतदाताहरुको ठम्याइ छ । फरक फरक स्वार्थ भएकाहरु निर्वाचनमा एक देखिएपनि निर्वाचनपछि उनीहरु असली स्वरुपमा आउने विगतको चुनावी गठबन्धनहरुले देखाइसकेका छन् ।
झन् सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेपछि संयुक्त प्यानलका उम्मेद्वारहरुको जोश जाँगर नै मरेको छ । सर्वोच्चको फैसलापछि नेकपाका दुई समूहको ‘बनावटी’ गठबन्धन उदांगो भएको छ । दाहाल–नेपाल समूहका उम्मेद्वारहरु खुशी देखिँदा ओली समूहकाहरु हिस्स परेका छन् । उनीहरुको संयुक्त चुनावी घरदैलो अभियान नै प्रभावित बनेको छ ।त्यसो त निर्वाचन हारिने निश्चित भएपछि संयुक्त प्यानलले फागुन १६गतेका लागि निर्धारित निर्वाचन सार्ने प्रयास गरेको थियो । त्यसकै लागि उम्मेद्वारी खारेज भइसकेकी जनसम्पर्क महिला उपाध्यक्ष पदकी उम्मेद्वार उर्मिला विमली खरेललाई निर्वाचन समितिविरुद्ध उजुरी दिन लगाइएको थियो । तर , त्यसबाट कुनै जोर नचलेपछि संयुक्त प्यानल निर्वाचनमा जान बाध्य बनेको हो ।
संयुक्त प्यानलका उम्मेद्वारहरु को कुन समूहका ?
संयुक्त प्यानलको नेतृत्व सुवास भट्टराईले गरेका छन् । अध्यक्ष पदका उम्मेद्वार भट्टराई खुलेर नआएपनि उनी नेकपाको नेपाल समूहका हुन् । जुन अहिले दाहाल समूहसँगको सहकार्यमा छ । वाणिज्य संघको निर्वाचनमा मत लिनका लागि उनी ओली समूहसँग पनि ठीक्क छन् । अध्यक्षका उम्मेद्वार भट्टराई दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईका भाइ हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार नारायण चिमरिया ओली समूहका हुन् भने वाणिज्य उपाध्यक्ष पदका उम्मेद्वार रामकृष्ण अधिकारी पूर्व माओवादी हुन् । त्यस्तै उद्योग उपाध्यक्ष राप्रपाका प्रकाश घिमिरेले पाएका छन् । महासचिव पदका उम्मेद्वार अर्जुन मैनाली भने सत्तारुढ ओली समूहका हुन् । त्यस्तै उद्योग सचिव धनबहादुर डाँगी पूर्व माओवादी ,वाणिज्य सचिव कृष्ण पौडेल राप्रपा ,कोषाध्यक्ष दुर्गा थपलिया नेपाल समूह र सहकोषाध्यक्ष रन्जु प्याकुरेल राप्रपाका हुन् ।त्यसैगरी सदस्य पद पनि चारै वटा समूहले पाएका छन् ।
आफ्नै प्यानलको चुनाव प्रचार प्रसारमा संलग्न एकजना मतदाता समेत त्यो गठबन्धनप्रति सन्तुष्ट छैनन् । ‘हाम्रो हेर्ने हैन , राम्रो हेरेर भोट हाल्ने हो ’पूर्व माओवादीका ती कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा भने । संयुक्त प्यानलको चुनावको प्रचारप्रसारमा हिडिरहेका कतिपयले त यस पटक लोकतान्त्रिक प्यानलसँग सहकार्य गरेको भए राम्रो हुन्थ्यो भनेर भन्न थालेका छन् । अध्यक्षका दावेदार भट्टराईले लोकतान्त्रिक प्यानलको सहकार्यमा महासचिवमा उठेको भए उचित हुन्थ्यो भन्ने सल्लाह दिएका छन् ।
हौसिएको लोकतान्त्रिक प्यानल
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा खाता खोलिसकेको लोकतान्त्रिक प्यानल हौसिएको छ । आफूहरुको पुरै सेट आउने कुरामा उनीहरु ढुक्क छन् । ‘हाम्रो पुरै सेट आउँछ ’प्रचारप्रसारमा लागेका प्रशान्त भण्डारी भन्छन् ‘हाम्रो प्यानलका कोही पनि हार्दैनन् ।’ यसअघि उनी पनि अध्यक्ष पदका आकांक्षी रहेका थिए । अध्यक्ष पदका लागि पाँचजना आकाक्षी हुँदा नेपाली कांगे्रसलाई मिलाउन केही समस्या रहेपनि अहिले कसैको पनि विमति नरहेको उनले स्पष्ट पारे । ‘आकांक्षा राख्नु स्वाभाविक हो’ भण्डारीले भने ,सहमति भयो , अहिले कुनै पनि विमति छैन ।’