झापा,२४ मंसिर । सहकारी विभागले सहकारीले लिने सेवा शुल्कमा कडाइ गर्ने भएको छ । विभागले सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्नुका साथै कुनै प्रकारका शुल्कहरू उठाउन नपाइने व्यवस्था गरेको हो ।
माघ १ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाहरूले ऋण प्रवाह गर्दा एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सीमा तोकेको हो । सहकारीहरूले ऋण लगानी गर्दा ५ प्रतिशतसम्म सेवा शुल्क लिने गरेका थिए । सामूहिक जमानीमा दिइने लघुवित्त ऋणमा भने १.५ प्रतिशतसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

नियमानुसार कर्जाको व्याज र सेवा शुल्क लिएपछि थप प्रक्रिया शुल्क, प्रशासन शुल्क जस्ता कुनै पनि अतिरिक्त शुल्कहरू लिन नपाइने पनि विभागको निर्देशनमा उल्लेख छ । गत वर्षदेखि नै विभागले सहकारीको ऋणको व्याजदरमा सीमा तोकेको थियो । २०७६ साउनमा १६ प्रतिशत रहेकोमा २०७७ कात्तिक १५ देखि १४.७५ प्रतिशत कायम गरिएको छ ।
ब्याजदरमा सीमा निर्धारणपछि सहकारीले ऋण लगानीमा सेवा र नवीकरण शुल्कका नाममा जथाभावी रकम लिएको गुनासो बढेपछि सीमा तोकेको हो । सहकारी ऐन–२०७४ ऐनको दफा ५० (३ ) मा ‘सहकारी संस्थाले सदस्यहरूलाई प्रदान गर्ने ऋणमा रजिष्ट्रारले अन्यथा तोकिएको बाहेक सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोकेबमोजिम हुने’ उल्लेख छ । यही व्यवस्थाअनुसार राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ र राष्ट्रिय सहकारी वैंकका प्रतिनिधिहरू सम्मिलित बैठकबाट सुझावका आधारमा सेवा शुल्क निर्धारण गरिएको विभागले जनाएको छ ।
बागमती प्रदेश सरकारले सहकारी ऐनमार्फत नै भने बढीमा एक प्रतिशत र नवीकरण गर्दा ०.२५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । प्रदेश सहकारी ऐन–२०७६’ को परिच्छेद ७ को दफा ६३ (३ ) अनुसार ऋणमा एक प्रतिशत र नविकरण गर्दा ०.२५ प्रतिशत सेवा शुल्क निर्धारण गरिएको छ । तर, प्रदेश सरकारले प्रभावकारी रूपमा नियमन गर्न नसक्दा यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । सहकारी ऐन—२०४८ मा सेवा शुल्कबारे कुनै प्रावधान थिएन । ऋण लगानीमा चर्को सेवा शुल्क लिएको गुनासो बढ्न थालेपछि सहकारी दर्ता तथा नियमन मापदण्ड—२०६८ मार्फत ऋणको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरियो ।
तर, अधिकांश सहकारीहरूले उक्त व्यवस्थालाई कार्यान्वयन गरेनन् ।अहिले सहकारीहरूले सहकारीहरू सेवा शुल्क बाहेक ऋण व्यवस्थापन, फर्म शुल्क, संस्था प्रवेश, संस्थागत विकास, धितो मूल्यांकनलगायतका शीर्षकमा पनि चर्को शुल्क लिने गरेका छन् । सेवा शुल्कका नाममा बढी रकम लिन थालेपछि नेपाल राष्ट्र बैंकले समेत चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि सेवा शुल्कमा सीमा तोकेको थियो ।
विभागका तथ्यांकअनुसार देशभर ३५ हजारभन्दा बढी सहकारी दर्ता छन् । जसमध्ये । बचत तथा ऋण १३ हजार र बहुउद्देश्यीय सहकारी ४ हजारले वित्तीय कारोबार गर्दै आएका छन् । यसबाहेक अन्य विषयगत सहकारीहरू पनि बचत तथा ऋण कारोबारमै केन्द्रित रहेका छन् । सहकारीमार्फत वित्तीय कारोबार बढ्दै गएपनि सरकारले यसलाई नियमन गर्न नसक्दा विकृति बढिरहेको छ ।