पथरी, १२ भदौ । नेपाल आइडल सिजन ३को विजेता मोरङ, पथरीकी सज्जा चौलागाईं बनेकी छिन्।शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल सिजन ३को विजेता बनेकी हुन्।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।यस्तै बर्दियाका प्रविन बेडुवाल फस्ट रनरअप बनेका छन् भने किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका छन्।
विजेता भएसँगै सज्जाले नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् भने फस्ट रनरअप प्रविनले १० लाख र सेकेन्ड रनरअप किरण भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन्।आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको थियो।
यसअघि नेपाल आइडल सिजन १का विजेता बुद्ध लामा र आइडल सिजन २का विजेता रवि ओड भएका थिए।नेपाल आइडलमा सहभागी हुनु अघि सज्जाले काठमाडौंका विभिन्न लाउन्जहरुमा लाइभ सांगितिक प्रस्तुती दिने गर्थिन्। सज्जाले ‘दि लोडिङ’ नामक ब्यान्डमा समेत आबद्ध भएर काम गरेकी छिन्।हाल स्नातक गरिरहेकी सज्जाले संगीतमा भविष्य बनाउनुका साथै फेसन डिजाइर बन्ने सपना समेत बुनेकी छिन्।