काठमांडौ । युएईलाई तेश्रो टि-२० मा १४ रनले पराजित गर्दै नेपालले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको छ।
वर्षको कारण १० ओभरमा छोट्याईएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १०४/८ को योगफल तयार गरेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो र नेपाललाई जित र सिरिज सुम्पन पुग्यो।
युएई र नेपाल बीच सिरिज अघिसम्म अपरिचित जस्ता बलर अभिनाश बोहराले पहिलो सिरिजमै आफूमाथि देखाएको भरोसामा खरो उत्रिएका छन्।
एभरेस्ट प्रिमियर लिगमा कसिलो डेथ ओभर बलिङ्गको कारण प्रभावित बनाएका अविनासले उक्त क्षमता राष्ट्रिय टिमसम्म पनि निडर भएर प्रस्तुत गरेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बेञ्चबाटै खेल हेरेका अभिनाशले टि-२० सिरिजको पहिलो खेलमा डेब्यु गर्ने पाए। पहिलो खेलमा ३६ रन खर्चेर १ विकेट लिएका अभिनाशले दोश्रो खेलमा मात्र २० रन खर्चेर ३ विकेट लिंदै आफुलाई टि-२० फर्म्याटमा अब्बल सावित गरे। तेश्रो टि-२० मा पनि आफ्नो सोहि परिचयलाई दोहोर्याउने क्रममा दबाबले भरिएको खेलमा २ विकेट लिएका बोहरा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

राष्ट्रिय टिमको लागि खेलेको पहिलो सिरिजमै २१ वर्षीय बलरले ठुला खेलाडीहरुलाई पछि पार्दै उत्कृस्ट चुनिएका हुन्। तिब्र गति बलर बोहरा टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लागि प्लेयर अफ द सिरिज हुने पहिलो खेलाडी बनेका छन् र डेब्युमै उक्त किर्तिमान बनाउने खेलाडी समेत बन्न पुगेका छन्।
यस्तो थियो तेश्रो खेलमा अभिनाशको प्रदर्शन
सिरिजको निर्णायक अन्तिम टि-२० मा अभिनाशले २ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले विस्फोटक ब्याटिंग गरिरहेका ओपनर घुलाम शब्बिरलाई बोल्ड गरे। शब्बिरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाईसकेका थिए र नेपालको जितमा तगारो बनिरहेका थिए। त्यतिमै अभिनाश रोकिएनन् र मोहम्मत बुतालाई ११ रनको व्यक्तिगत योगफलमा आउट गर्दै जितमा महत्वपूर्ण योगदान दिएका थिए।

पहिलो ओभर – ७ रन १ विकेट ( २ , ४ , ० , विकेट , १ रन , डट बल )
अभिनाशले खेलमा आफ्नो पहिलो ओभर पाँचौ ओभरमा गरेका थिए जुन क्रममा ७ रन मात्र खर्चेर शब्बिरको विकेट लिएका थिए। ओभरको दोश्रो बलमा शब्बिरले उनलाई चौका प्रहार गरेका थिए।
दोश्रो ओभर – ९ रन १ विकेट ( २ , ४ , डट बल, २ रन , विकेट , १ रन )
युएईलाई जितको लागि १२ बलमा २९ रन आवस्यक थियो र साथमा थियो ५ विकेट। मोहम्मत बुता नेपालको लागि खतरनाक हुन सक्थे। ओभरको दोश्रो बलमा चौका प्रहार गर्दै बुताले त्यसको संकेत पनि गरे। ओभरको तेश्रो बलमा डट र चौथो बलमा २ रन दिएपछि पाँचौ बलमा आक्रामक सट प्रहार गर्ने क्रममा बुता ज्ञानेन्द्र मल्लबाट लंग अनमा समातिन पुगे। ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिंदा युएईलाई अन्तिम ओभरमा जितको लागि २० रन आवस्यक थियो जुन ओभर नेपालको जितमा अत्यन्त महत्वपूर्ण सावित भयो।
अभिनाशको २ ठुलो किर्तिमान :-
एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर :-
एकै टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बन्ने सौभाग्य समेत अभिनाशले पाएका छन्। ३ खेलमा ६ विकेट लिंदै अभिनाशले रेकर्ड कायम गरेका हुन्।

युएईसंग जारि सिरिजमा सन्दिप लामिछानेले ५ विकेट लिएका छन् भने बसन्त रेग्मीले सन् २०१५ को नेदरल्याण्डसंग टि-२० सिरिज तथा २०१४ टि-२० बिश्वकपमा समान ५ विकेट लिएका थिए।रेग्मीले सन् २०१५ टि-२० बिश्व कप छनौटमा पनि ५ विकेट लिएका थिए। यस्तै शक्ति गौचनले पनि सन् २०१४ टि-२० बिश्वकपमा ५ विकेटनै लिएका थिए।
पहिलो प्रतियोगितामानै बोहराले ठुलो रेकर्ड आफ्नो नाम गरेका हुन्।
सबैभन्दा उत्कृस्ट स्ट्राईक रेट :-
३ टि-२० को सिरिज पछि अभिनाश बोहरा नेपाली टि-२० अन्तर्रराष्ट्रिय खेलाडी मध्ये सबैभन्दा राम्रो स्ट्राईक रेट भएका बलर बनेका छन्। ३ खेलमा १० ओभर बलिङ्ग गरेर ७२ रन दिंदै ६ विकेट लिएका बोहराको स्ट्राईक रेट १०.० रहेको छ। अर्थात् हरेक १० बलमा अभिनाश एउटा विकेट लिने गर्छन्।

यो स्ट्राईक रेट जितेन्द्र मुखिया र बसन्त रेग्मीको १५.०० भन्दा उत्कृस्ट हो। सन् २०१४ को टि-२० बिश्व कपको ४ खेलमा मुखियाले १० ओभर बलिङ्ग गर्दै ५६ रन दिएर ४ विकेट लिएका थिए। बसन्त रेग्मीले पनि १३ खेलमा ४५.१ ओभर बलिङ्ग गर्दा २८० रन दिएर १५.०० को स्ट्राईक रेटमा १८ विकेट लिएका छन्। चौथो स्थानमा रहेका सन्दिपको १६.८, पाँचौ स्थानमा रहेका करन केसीको १७.३ तथा छैठौं स्थानमा रहेका सोमपालको १८.० स्ट्राईक रेट रहेको छ।
करन केसी प्लेयर अफ द म्याच
फेब्रुअरी करन केसीलाई फाप्ने महिना पुनः सावित भएको छ। गत वर्ष क्यानडा बिरुद्ध फेब्रुअरीमा सनसनीपूर्ण जित हात पार्दा ब्याटिंग नेपाललाई जित दिलाएका करनले युएई बिरुद्ध जितमा महत्वपूर्ण भूमिका खेले।

पहिले ब्याटिंग गर्ने क्रममा करनले ५ बलमा १ छक्का मदतले १० रन बनाए। त्यसपछि बलिङ्ग गर्ने क्रममा पनि करनले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट हात पारे।
करनले गरेको किफायती बलिङ्गले नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको थियो भने विस्फोटक ब्याटिंग गरिरहेका शैमन अनवरको विकेट लिनु खेलको टर्निंग प्वाइन्ट थियो। अनवरले २० बलमा २/२ चौका र छक्का प्रहार गर्दै ३० रन बनाईसकेका थिए र खेल जिताउन सक्ने सम्भावना देखाएका थिए। यस्तै करनले अर्का विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद नबिदलाई खाता नखोल्दै क्याच आउट गराएका थिए।
दोश्रो इनिंगको आठौँ ओभरमा उनले दुवै विकेट लिंदा खेलनै परिवर्तन भएको थियो। करनले ४ रन मात्र खर्चेर २ विकेट लिएका थिए।
करनको ओभर अघि युएई ६ ओभरमा ७२/३ को बलियो अवस्थामा थियो तर करनको ओभर पछि युएई ७ ओभरमा ७६/५ को कम्जोर अवस्थामा पुग्यो जहाँबाट युएई खेलमा फर्कन पाएन।
खेलमा नेपालको ब्याटिंगमा पारस खड्काले सर्वाधिक २९ रन ( १४ बलमा ४ चौका र १ छक्का ) , सन्दिप जोराले २८ रन ( ११ बलमा ३ छक्का ), भण्डारीले २१ रन ( १३ बलमा २ चौका र १ छक्का ) बनाएका थिए।
नेपालको बलिङ्गमा करन केसी, अविनाश बोहरा र ललित राजबंशीले समान २/२ विकेट लिए। करनले २ ओभरमा १३ रन, अविनाश र ललितले २ ओभरमा समान १६ रन खर्चिए। सन्दिप लामिछानेले २ ओभरमा २३ रन खर्चेर १ विकेट तथा सोमपाल कामिले २ ओभरमा २१ रन खर्चेर १ विकेट हात पारे।
विकेटनेपाल