दमक,१९ फागुन । नेपाल महिला संघले आज झापाको कमल ५ स्थित मंगलमय माध्यमिक विका सुस्तश्रवण भएका बालबालिकाका लागि दुई थान एलइडी टिभी प्रदान गरेको छ ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर संघको झापा क्षेत्र नं ५ को क्षेत्रीय समितिले आज विद्यालयमा एक कार्यक्रम गरि विशेष कक्षामा अध्ययनका लागि सहयोगी सामग्रीका रुपमा सो टिभी प्रदान गरिएको संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईले वताइन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रमका वक्ताहरुले महिला अधिकार स्थापनाको इतिहास संघर्षपूर्ण रहेको र अझै पनि महिलाका हक अधिकार सम्बन्धि कानुनहरुको कार्यान्वयन नहुनु दुखद भएको औल्याएका थिए । सबै खाले अधिकार प्राप्तिको लडाइँमा महिलाहरुको भुमिका अहम रहेको कार्यक्रममा चर्चा गरिएको थियो ।
सो अवसरमा कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा, नेतृ रामकुमारी पौडेल, नेविसंघकी केन्द्रिय उपसभापति तुलसा पन्त, मंगलमय माविका प्रधानाध्यापक मोहन बगाले थापाले लगायतले बोलेका थिए ।