बिर्तामोड , १० फागुन । नेकपा प्रचण्ड–नेपाल समूहको झापा अध्यक्षमा बेदराज रेग्मी सर्वसम्मत चयन भएका छन् । सोमबार नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको वैठकले झापाको अध्यक्षमा रेग्मीलाई सर्वसम्मत चयन गरेको हो । उनी नेकपाको प्रदेश कमिटी सदस्य थिए ।

जिल्ला अध्यक्ष रेग्मी
त्यस्तै जिल्ला सचिवमा तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए ।जिल्ला अध्यक्ष तोकिएपछि अब जिल्ला कमिटी विस्तार गरिने जिल्ला सदस्य धर्मराज शिवाकोटीले बताए ।उनले साविकको १७७ जनालाई आधार मानेर त्यसभन्दा माथि सदस्य थप गरिने जानकारी दिए ।उनका अनुसार जिल्ला कमिटी विस्तार गरिसकेपछि पालिकाहरुमा पनि आफ्नै कमिटी निर्माण हुनेछ ।
केन्द्रीय कमिटिले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भाग वण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो ।
बाँकी ९ जिल्लामा पनि चाडै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठन भित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।झापामा नेकपा ओली समूहको जिल्ला अध्यक्षमा चिन्तन पाठक नै छन् ।