
आज सबैतिरबाट उठिरहेको विषय नै यहि हो । वर्तमान परिवेशमा याक्थुङ् लिम्बुहरु किन विभाजित मानसिकतामा गुज्रिरहेको भन्ने सवालमा जताततै प्रश्न उब्जिरहेको छ । यस सवालमा मलाई के लाग्छ भने याक्थुङ् लिम्बुहरुको मूल थलो लिम्बुवान नै भएपनि आज विश्वमा छरिएर बसेका छन् । याक्थुङ् लिम्बुहरुमा विश्वका कुनै न कुनै सभ्यता, संस्कार, संस्कृति, भाषा, साहित्य, इतिहास, सामाजिक, राजनैतिक र धार्मिक परिवेष सँग परिचित छन् र घुलमिल पनि छन् । यसकारण जुन याक्थुङ् लिम्बुले जुन परिवेशको वातावरण, आचार, विचार, संहिता र सिद्धान्तसँग परिचित छ त्यही कुरा लाद्न खोज्दछ । वास्तवमा यो उनको बुझाई र गराईलाई बिषय भन्न मिल्दैन ।
जुन याक्थुङ् लिम्बु अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, अफ्रिका लगायतका मुलुकमा पुगेका छन् उनीहरुले त्यस ठाउँमा विकसित घटनाक्रमहरुले आफ्नो समाज प्रमावित पार्न खोज्दछन् । त्यसरी नै एसियामा मात्र बसिरहने याक्थुङ् लिम्बुहरुले यहिको परिवेश अनुसार चल्न खोज्दछ । यसकारणले पनि लिम्बुमा विभाजितताको मानसिकता विकास भएको हो भन्ने मलाई लाग्छ ।

अर्को कुरा हामी याक्थुङ् लिम्बुहरुको सामाजिक दर्शनको निर्माण पञ्चतत्वको मिलान सिद्धान्तबाट निर्माण भएको छ । सांसारिक राज्यमा पञ्चतत्व दैविक अनिष्टताको कारण विद्रोह भयो भने मात्र फाटो आउँछ । जस्तै कि हावा, पानी, आगो, धर्ति र आकाश कहिल्यै पनि विवाद गर्दैनन्, हो, त्यही सिद्धान्तबाट हाम्रो याक्थुङ् लिम्बुको सामाजिक सिद्धान्त निर्माण भएको छ । सामाजिक परिवेशले राजनैतिक विचारलाई प्रमावित पारीरहेको हुन्छ । त्यस अर्थले पनि हामीमा राजनैतिक चातुर्यता कमजोर छ । भन्नैपर्दा राजनैतिक सिद्धान्तमा आएका उतार चढावलाई सहजै व्यवस्थापन गर्न जान्दैनौं, जसले गर्दा हामीबिचको सकारात्मक पक्षहरु आवश्यकता भन्दा बढि नकारात्मक पाटोहरु जन्मन पुग्छ, जो कहिल्यैपनि पुरिन्दैनन् । यसको मूल कारक तत्व नै हाम्रो साश्वत जीवन दर्शन मुन्धुमको असर हो ।
पछिल्लो समयमा पेचिलो हिसाबले उठेको धार्मिक विवाद पनि त्यहि कारणले विकसित भएर आएको हो । आज संसारमा हरेक कुराको विश्वव्यापीकरण भइरहेको छ । त्यहि विश्वव्यापीकरणको जालोमा आफूपनि झुण्डीनु पुग्नु कुनै न कुनै आफ्नो विशिष्टीकरण अस्तित्व र पहिचान सहित प्रस्तुत हुनुपर्छ । आज याक्थुङ् लिम्बुहरुले पनि त्यही कुरा खोजी गरिरहेका छन् । तर के कुरा चाहिँ याक्थुङ् लिम्बु जातिमा अभाव देखिन्छ भने एकताविना हक, अधिकार र न्याय प्राप्ती असम्भव हुन्छ भन्ने कुरा हेक्का भइरहेको छैन ।
त्यसकारण यहि संक्षिप्त विचार सहित समस्त याक्थुङ् लिम्बुहरुमा लुङ्मेन्दीङ् अपील गर्दछु कि हामी याक्थुङ् लिम्बुहरु अबको दिनमा जुनै कुरामा गोलबन्द भएर अघि बढ्नुको विकल्प छैन त्यसकारण हामीविचमा उब्जेका सामाजिक, राजनैतिक, भाषिक, साहित्यिक, सांस्कृतिक लगायत विविध पक्षसँग सम्बन्धित सबै विषयहरुप्रतिको विभाजित मानसिकतालाई सकारात्मक विचारले व्यवस्थापन गर्दैलैजाऔं, ताकि हाम्रा सन्ततीहरुमा नकारात्मक सोचको सिद्धान्त भन्दा सकारात्मक सोचको सिद्धान्त लाखौं गुणा गुणेदार हुन्छ भन्ने शिक्षा प्राप्त गर्न सकुन् ।