जगद्गुरु, जन्मस्थल र यस क्षेत्रको संम्भावना

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • बुद्धशान्ति । अनन्तश्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ले नेपाल राष्ट्रका धार्मिक निधिहरुको वेद पुराणका प्रमाणका आधारमा आदिगंगा सप्तकौशिकी प्राचीन हरिद्वार वराहक्षेत्र मोहिनीरुप विष्णुले अमृतघटको तर (छाली) बाट स्थापनागरेको रुद्रक्षारण्यको पिण्डेश्वर महादेव र चताराधाममा प्राचीन समयमा कुम्भस्थान हुने गरेको तथा स्कन्द महापुराणको प्रमाणका आधारमा १२ ज्योतिलिङ्ग नेपालमै भएको पुष्टि गरेका छन् । यी कुराको प्रमाण सहित पुष्टि,संरक्षण र प्रबद्र्धनमा जगद्गुरुको भूमिका अत्यन्त्यै महत्वपूर्ण साबित भईसकेको छ ।

    वि.स. २०६७ बैशाख १ गते काशी पण्डितसभाले बालसन्त मोहनशरणलाई सम्मान गर्दै जगद्गुरुको प्रमाणपत्र, प्रशस्ति पत्र एवं भगवान् काशी विश्वनाथको स्मृति चिन्ह प्रदान गरेको थियो । यस भन्दा अघि कुनैपनि नेपाली सन्त, महात्मा, विद्वान्, पण्डितहरुलाई काशी पण्डित सभाले जगद्गुरुको उपाधी दिएको थिएन । उनी नै नेपालको तर्फबाट प्रथम जगद्गुरु हुन् ।

    जगद्गुरु मोहनशरण

    वशिष्ट ऋषिका कुलमा जन्मिएका जग्गेनिधि भट्टराईका कान्छा छोराबुहारी डिल्लीराम तथा तुलसादेवी भट्टराईको छैटौं गर्भमध्ये चोथो पुत्ररत्नका रुपमा पूर्वी नेपालको झापा बुद्धशान्ति–२ (साबिक बुधबारे–५) मा वि.स. २०३३ साल मंसीर २७ गते जगद्गुरु मोहनशरणको जन्म भएको हो । उनको न्वारानको नाम मनोरथ हो भने बोलाउने नाम महेन्द्र, बृन्दावनमा अध्ययन–रत रहँदा गुरुहरुले प्यारो गरेर मोहन भनेर बोलाउँथे ।

    घरमा नै अक्षारम्भ गरेका उनले घर छेउकै सामुदायिक विद्यालय सरस्वती आधारभूत विद्यालय तथा संस्कृत विषयको अध्ययन झापाकै अर्जुनधारा धाममा गरेका थिए । सनातन धर्म र धार्मिक क्षेत्रको विकासमा उनको भूमिका उल्लेख्य बन्दै गएको छ ।

    जगद्गुरु जन्मस्थल तीर्थस्थलका रुपमा विकास हुँदै
    जगद्गुरु मोहनशरणको जन्मस्थल झापाको बुद्धशान्ति–२ तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ । वरिपरि मन्दिरैमन्दिरले घेरिएको जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र भ्रमण तथा अवलोकन, सनातन धर्मको अध्ययन केन्द्र सहित धार्मिक आस्थाको धरोहर बन्दै गएको धार्मिक व्यक्तित्वहरुले बताउने गरेका छन् । जगद्गुरु जन्मस्थल तथा अध्ययन केन्द्रको आसपास कमलेश्वर महादेव मन्दिर, शक्ती पाथीभरा देवी मन्दिर, शितलादेवी मन्दिर, राधाकृष्ण (राम सङ्कृर्तन) मन्दिर, ॐकारेश्वर मन्दिर, सिंहसेती देवी मन्दिर लगायतका धार्मिक आस्थाका केन्द्रहरु रहेका छन् ।

    यी सबै मन्दिरलाई जोडेर सडक सञ्जाल निर्माण गर्ने हो भने रिङ रोड नै बन्छ । यस रिङरोडलाई जगद्गुरु जन्मस्थल रिङ रोडका रुपमा विकास गर्न प्रयास समेत थालिएको छ । यद्यपी यस क्षेत्रमा विकासको गतिभने सामान्य ढंगबाट अघि बढेको छ । बृहत गुरुयोजना बनाएर सोहि अनुरुप विकास गर्न सके यस क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

    संम्भावना

    नेपालका प्रथम जगद्गुरु मोहन शरण जन्मिएको ठाउँ तथा त्यस आसपासका धार्मिक मठमन्दिरले यहाँ विभिन्न संम्भावनाहरु देखाइरहेको छ । यस क्षेत्रको समुचित विकासमा राज्यका निकाय, जगद्गुरु जन्मस्थल तथा अध्ययन केन्द्र तथा विभिन्न मठमन्दिरका सञ्चालकहरु एक भएर विकासका योजना तय गरी सहकार्यको माध्यमबाट कार्यान्वयनका पक्षमा लागे सनातन धर्मको बृहत अध्ययन केन्द्र बन्ने तथा विशाल धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय बनाउने कुरामा दुईमत नै छैन ।

    तत्काल के गर्न जरुरी ?
    जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्रलाई आधार बनाएर त्यस आसपासका धार्मिक स्थलहरुलाई समेटेर बृहत गुरुयोजना बन्न जरुरी छ । त्यस क्षेत्रको विकासका निम्ति एउटै बृहत गुरु योजना बनाई राज्यका सबै तहको सहकार्यमा क्रमागत बजेटका आधारमा विकास गतिविधि बढाउनुपर्छ । ती कार्य गर्न विज्ञ, सरोकारवाला, जन प्रतिनिधि तथा नीजि क्षेत्रको संग्लनतामा नै एक उच्च स्तरीय समिति गठन गरी काम गर्ने हो भने छिटो ठूलो उपलब्धी हात लाग्न सक्छ । यस क्षेत्रको उत्कृष्ट ढंगले विकास गर्न सके यस क्षेत्रको महत्व सयौं वर्षसम्म टिक्न सक्छ र यस क्षेत्रका नागरिकले पनि सयौं वर्षसम्म यहाँबाट फाइदा हासिल गर्न सक्छन् ।

    अत्पकालिन लक्ष्य होइन दीर्घकालिन लक्ष्य हासिल हुनेगरी कार्य हुन जरुरी देखिन्छ। यस कार्यका निम्ति तीन तहकै जिम्मेवार जन प्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । जगद्गुरु, उनको महत्व, योगदान, प्रमाणका आधारमा जगद्गुरुले उठान गरेका तथ्यहरुको प्रचारका निम्ति सर्वप्रथम गम्भिर ढंगले लाग्न जरुरी छ । धेरैले अझै बुभ्mन सकेका छैनन् वास्तविकता । त्यसपछि जगद्गुरुले प्रमाणका आधारमा उठान गरेका १२ ज्योतिर्लिङ्ग, मठमन्दिर तथा क्षेत्रको पौराणिक महत्वलाई सञ्चारमाध्यम सहित डिजिटल प्रविधिबाट जानकारी, चिनारी, महत्व र भारतीय पक्षले पौराणिक हिसाबले दावी गर्ने धार्मिक स्थल वास्तवमै यथार्थ परक ढंगले प्रचार गरिएको रहेछ ?

    गहन अध्ययनको अभावले नेपालमा रहेका ती सबै महत्वका स्थलहरुको पहिचान हराइरहेको बताउने जगद्गुरुका वाणीहरुको महत्वपूर्ण ढंगले प्रचार गर्न जरुरी छ । अनि बृहत गुरुयोजनाका आधारमा वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारले गर्ने कार्यको विभाजन गरी सोहि निकायले काम गर्ने गरी बजेट विनियोजन गरेर विकासका कार्य गर्न जरुरी छ ।

    जगद्गुरु, जन्मस्थल तथा यस क्षेत्रको विकासका निम्ति अब कसरी अघि बढ्ने ?

    हिक्मत कार्की
    प्रदेश मन्त्री, आन्तरिक मामिला तथा कानुन
    यस क्षेत्रको विकासको लागि लागीपर्छु । यहाँको विकासका लागि राज्यका तीन तह सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यसका लागि गाउँपालिका अध्यक्ष तथा प्रदेश सांसद बृख प्रधानले सकृयता देखाउनुप¥यो । जगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने अवस्था छ ।

    धार्मिक पाटोमा त्यति धेरै जानकार नभएपनि जगद्गुरुसँगको छोटो चिनजानले यस भित्रको धेरै कुरा जान्ने अवसर पाएको छु । यहाँको विकासका लागि पदमा रहेपनि नरहेपनि काम गर्छु । यहाँको योजना बनाएर ल्याउन अनुरोध गर्छु ।

    पवित्रा निरौला खरेल
    संघीय सांसद
    झापाको उत्तरी भेग धार्मिक, प्राकृतिक रुपमा महत्वको छ । यस क्षेत्रको तीव्र विकासको लक्ष्यमा छु । यहाँको विकासका निम्ति झिनामसिना योजनाले सम्भव छैन, स्थानीय तहहरुलाई बृहत गुरुयोजना निर्माण गर्न अनुरोध गरिरहेको छु, फेरि गर्छु । प्रदेशका मन्त्री तथा माननीयहरुसँग यस क्षेत्रको बारेमा छलफल भर्खरै चलेको छ । संघीय सरकारमा यहाँको विकासका निम्ति योजना पेश भईसकेको रहेछ भने योजना पार्ने कुरामा विश्वास दिलाउन चाहन्छु, योजना पेश नै भएको छैन भने यो वर्ष ढिलो भयो आगामी वर्ष पार्नेछु । यहाँको विकासमा हाम्रो पूर्ण साथ रहन्छ ।

     

    बृख प्रधान
    प्रदेश सांसद
    यस क्षेत्रलाई तीर्थस्थलका रुपमा विकास गर्नुपर्छ । त्यसका लागि म पहिले पनि लागि परिरहेको छु, अब पनि लागि पर्छु ।यो ठाउँ मेरालागि नयाँ ठाउँ होइन, यस क्षेत्रलाई मेरो राजनीतिक पृष्ठभूमिले पनि जोडेको छ ।

     

    संगठनका काम देखि लिएर धेरै कुरामा यस ठाउँप्रति मेरो धेरै अगाडिदेखि सम्बन्ध जोडिएकै हो । यस क्षेत्रको विकासका लागि म लागिरहेको छु, लाग्नेछु । यो झापाकै विशिष्ट ठाउँ हो । भूमिसुधार यहिँबाट लागू भएको थियो । यस क्षेत्रले एकजना युगपुरुष जन्माएको छ । सनातन धर्म मान्नेहरुका निम्ति अध्ययन र खोज गर्ने माध्यम बन्नुपर्छ यो ठाउँ ।

    रमेशकुमार भुजेल
    अध्यक्ष, बुद्धशान्ति गाउँपालिका
    यस ठाउँको महत्व देशै भरि झल्काउन सक्नुपर्छ सबै मिलेर । सर्बप्रथम यहाँका संरचनाहरुलाई पूर्णता दिनुप¥यो । जगद्गुरुका वाणीहरु, उहाँले पौराणिक प्रमाणका आधारमा पुष्टि गरेका कुराहरुको व्यापक प्रचार गर्नुपर्छ ।

    गाउँपालिकाले यस कुरामा महत्वका साथ कार्य गर्छ । हाम्रो कार्यकाल भरिमा देखिने गरिका उपलब्धी संस्थागत भईसक्ने प्रतिबद्धता व्यक्त गर्दछु । सडक स्तरउन्नती, विभिन्न ठाउँबाट आउने भक्तजनलाई खानबस्नको व्यबस्था मिलाउनुपर्छ । सबै तह यसको विकास निर्माणमा सरिक बनाउनुपर्छ । योजनाबद्ध ढंगबाट लागौं लक्ष्य प्राप्ति भईछाड्छ ।

    दिलीप श्रेष्ठ
    वडाध्यक्ष, बुद्धशान्ति गाउँपालिका–२
    सर्वप्रथम बृहत गुरुयोजना बन्न जरुरी छ । जगद्गुरु जन्मस्थल क्षेत्रलाई मात्रै होकि त्यस आसपासका सबै धार्मिक क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हो, यो कुरा सुरुमै निश्चित हुन जरुरी छ ।

    यस कुरामा वडा २ को तर्फबाट पूर्ण साथ सहयोग रहन्छ । पर्यटकीय क्षेत्रका रुपमा अरु वडाले रकम लगेपनि वडा २ ले हाल सम्म रकम लिएको छैन, यस वर्ष लिनेछौं । कस्तो तरिकाले यो क्षेत्र बनाउने हो पहिले वृहत छलफल हुन जरुरी छ, लगानी माग गरेर मात्र हुँदैछ, कस्तो र कति लागतमा योजना सम्पन्न हुने हो सबै इस्टिमेट सुरुमै बन्न जरुरी छ ।

     

    पुर्वेली साप्ताहिकबाट

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology