हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

  • प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५



  • केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा ठूलो मुर्खता हुनसक्छ ।

    हरेक दिनजसो घरमा अभिभावकले हकार्ने गरेका बच्चामा हीन भावना बढ्छ । उनीहरूमा निराश हुने दर पनि माथि छ । २०१४ मा ‘द जर्नल अफ चाइल्ड डेभलपमेन्ट’मा प्रकाशित एक अध्ययन अनुसार चर्को स्वरमा गाली खाने बालबालिकामा शारीरिक दण्ड पाउने बालबालिकामा देखिने जस्तै दुस्प्रभावपर्छ । उनीहरूमा तनाव, नैराश्यताकोतह उच्च हुन्छ । व्यवहारमा पनि समस्या देखिन थाल्छ ।

    तपाईंले कतिपटक आफ्नो बच्चालाई चर्को स्वरमा गाली गरेपछि ‘हो, मैले ठिक गरेँ’ भन्ने लागेको छ ?

    त्यसले तपाईंको नियन्त्रण क्षमता कदापि दर्शाउँदैन । बरु तपाईंका बालबालिका नियन्त्रण बाहिर छन् भन्ने देखिन्छ । तपाईं कमजोर रहेको देखाउँछ । साँचो अर्थमा भन्ने हो भने तपाईं बालबालिकालाई हकारिरहनुभएको छ, किनकि तपाईं कमजोर हुनुहुन्छ । त्यो व्यक्ति चर्को स्वरमा कराउँछ, जसलाई के गर्ने भन्ने थाहै हुँदैन ।

    म आफैं लगायत अधिकांश अभिभावक कसरी बालबालिकालाई नहकारी दिन काट्ने भन्ने सोचिरहेका हुन्छौं । नयाँ अध्ययन अनुसार हकार्ने अभिभावकमा मुख्य रूपमा दुइटा समस्या देखिन्छन्– हकार्नुको विकल्पमा के गर्ने ? र कसरी हकार्न छाड्ने ?

    व्यस्त सडकमा दौडिन नदिनका लागि बच्चालाई हकार्नेहरूका विषयमा यहाँ कुरा गर्न खोजिएको होइन । हामी बच्चाको गल्तीलाई सुधार्नका लागि हकार्ने विषयमा कुरा गरेका हौं । कराएर गाली गर्दैमा बच्चा सुध्रिँदैनन् । बरु उनीहरूमा पनि कराउने बानी बस्न जान्छ । हामी प्राय: बच्चालाई एकै विषयमा दिनदिनै कराउँछौं । र यो हरेक दिन बढ्छ । उनीहरूले हामीले भनेका कुरा सुन्न छाड्दै जान्छन् ।
    ‘लुगा मिलाएर राख । खाना खानआऊ । कुकुरलाई नजिस्काऊ । भाइसँग झगडा नगर ।’

    बच्चालाई हकार्नु राम्रो होइन भनेर थाहा हुँदैमा त्यसले सहयोग गर्दैन भन्छन्, याल विश्वविद्यालयका बाल मनोविज्ञान तथा मनोभावका प्राध्यापक एलान काजदिन । कराउनु कुनै नीति होइन, त्यो तविस्फोट हो ।

    ‘अभिभावकको लक्ष्य आफूमा रहेको रिसलाई बाहिर देखाउनु हो भने कराउनु एकदमै राम्रो हो,’ काजदिनले भने, ‘लक्ष्य बच्चाको व्यवहारमा परिवर्तन गर्नु हो वा उनीहरूमा राम्रो बानी पार्नु हो भने कराउनु ठिक होइन । पागल जस्तो कराउनु नपर्ने अन्य उपाय छन् ।’

    धेरैजना बच्चालाई नहकार्नु भनेको अल्छी हुनु हो भन्ने सोच्छन् । नहकार्ने अभिभावकको बच्चा अनुशासित नभए झैं । तर नहकार्नका लागि अभिभावक आफैंमा अनुशासित र योजनाबद्ध हुन जरुरी हुन्छ ।

    काजदिनले एबीसी नामक कार्यक्रमलाई बढावा दिन्छन् । एबीसीको अर्थ ‘एन्टिसिडेन्टस’ (आग्रह), ‘बिहेभियर’ (व्यवहार), ‘कन्सिक्वेन्सेस’ (नतिजा) हो ।

    एन्टिसिडेन्टस तपाईंले बच्चाहरूबाट के अपेक्षा गर्नुभएको छ भन्ने जानकारी उनीहरूले केही गर्नुअघि नै दिनु हो । बिहेभियरमा अभिभावकले चाहेको व्यवहार व्याख्या गरिएको हुन्छ । र कन्सिक्वेन्सेस अपेक्षित व्यवहार प्रदर्शन भएपछि त्यसलाई स्वीकृति प्रदान गर्नु हो । स्वीकृति प्रदान गर्दा उनीहरूले देखाएको व्यवहारलाई राम्रो भनेर उत्प्रेरित गर्नुका साथै शारीरिक रूपमा केही हाउभाउ गरेर स्याबासी दिनुपर्छ ।

    बच्चालाई राति सुत्ने बेला जुत्ता ठिक ठाउँमा नभएकाले गाली गर्नुभन्दा भोलिपल्ट बिहान घर आएपछि आफ्नो जुत्ता ठिकसँग राख्न सम्झाउनुपर्छ । तपाईंले पनि घर फर्केपछि आफ्नो जुत्ता ठिक ठाउँमा राख्नुपर्छ । र बच्चाले तपाईंले चाहेकोस्थान नजिकै भए पनि जुत्ता राख्यो भने उसलाई राम्रो काम गर्‍यौ भनेर भन्नुपर्छ र स्याबासी दिनुपर्छ ।

    स्याबासी दिन एबीसी विधि विशेष तरिका हो । यसलाई प्रभावकारी बनाउन कहिलेकाहीं नचाहे पनि मुस्कान आफ्नो अनुहारमा ल्याउनुपर्छ र त्यस्तै हाउभाउ देखाउनुपर्छ । सँगै खुसी भएर ठूलो स्वरमा स्याबासी दिनुपर्छ र स्याबासी दिनुको कारण पनि भन्नुपर्छ । बच्चालाई छोएर पनि स्याबास भन्नु जरुरी हुन्छ । यसले बच्चालाई आफूले के राम्रो गरेंँ र त्यसको नतिजा कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।

    ‘हामी बानी बनाउन चाहन्छौं,’ काजदिनले भने, ‘यो तरिकाले बच्चाको दिमागमा परिवर्तन गरिदिन्छ र सँगसँगै उनीहरूको नराम्रो बानी हराउँदै जान्छ ।’ उनले थपे, ‘अभिभावकमा पनि तनाव र नैराश्यताकम हुँदै जान्छ र पारिवारिक सम्बन्धसुमधुर बन्छ ।’

    बच्चाहरूले राम्रो व्यवहार देखाए भने कराउनै पर्दैन । कराउनु परेन भने बच्चाको व्यवहार राम्रो हुँदै जान्छ ।
    यो तरिकाको सुन्दरता भनेको बच्चाले बिगार गर्नुभन्दा अगावै तपाईंसँग योजना हुन्छ । योजना बनाउँदा आफू पनि अनुशासित हुन जरुरी हुन्छ, जुन अभिभावकका लागि कठिन विषय हो ।

    हामी कराउने प्रकृतिकै जीव हौं । यो बाँच्नका लागि चाहिने अपरिहार्य प्रवृत्ति पनि हो । तर हामीले जसको रक्षा गर्नुपर्ने हो, उसैमा यसको प्रयोग गरिरहेका छौं । बच्चालाई कराउन छाड्नु निकै गाह्रो विषय हो । नकराइ अभिभावकको भूमिका निर्वाह गरिरहेका छौं जस्तै हामीलाई लाग्दैन ।

    सन् १९६० मा ९४ प्रतिशत अभिभावकले शारीरिक दण्ड दिन्थे । २०१० मा गरिएको एक सर्वेक्षणले उक्त आँंकडा घटेर २२ प्रतिशतमा झरेको देखाएको थियो । त्यसका कारण धेरै हुन सक्छन् । तर एउटा कुरा पक्कै हो, नपिटी बच्चाको व्यवहार परिवर्तन गर्न सकिन्छ भने त्यही प्रयोग गरिन्छ । पिटेर कामै छैन भने किन पिट्नु ? कराउनुमा पनि यही लागु हुन्छ । किन कराउनु ? त्यसले बच्चालाई राम्रो गर्दैन ।

    तपाईं बच्चा कस्तो बनोस्, नबनोस् भन्ने चाहनुहुन्छ, त्यसैमा अनुशासित बनाउने विधि प्रभावकारी हुन्छ । स्याबासीले काम गर्छ । दण्डले गर्दैन ।

    – स्टिफेन मार्से
    (न्युयोर्क टाइम्सबाट अनुदित)- कान्तिपुर दैनिकबाट 

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology