सातै प्रदेशका प्रदेशप्रमुख को–कस्ता ?

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०७४



  • काठमाडौं । मुलुक संघीय प्रणालीमा गएपछि सिर्जना भएको नयाँ संरचना हो, प्रदेश ।

    लामो समयको विवाद र अन्योलकाबीच बुधबार अपराह्न सरकारले सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्तिको निर्णय गरेको छ ।

    मन्त्रिपरिषदबाट प्रदेश नम्बर–१ को प्रदेशप्रमुखमा सिफारिस भएका डा. गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन् ।

    धनकुटाका स्थायी बासिन्दा सुब्बा पछिल्लो समयमा नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का प्राध्यापक थिए । सुरुमा अखिलको राजनीति गरेका सुब्बा जनमतसंग्रहपछि नेपाली कांग्रेसमा लागेका थिए ।

    उनी २०४९ सालमा स्थानीय निर्वाचनमा कांग्रेसबाटै धरान नगरपालिकाको मेयरमा उम्मेदवार बनी पराजित भएका थिए ।

    प्रदेश–२ को प्रमुखमा सिफारिस भएका रत्नेश्वरलाल कायस्थ कृषि मन्त्रालयका पूर्वसचिव हुन् । महोत्तरीका स्थायी वासिन्दा कायस्थ राष्ट्रिय योजना आयोगमा पनि सदस्य भएका थिए ।

    विज्ञताको हिसाबले जलस्रोतविद्समेत रहेका कायस्थ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता पनि हुन् ।

    प्रदेश नम्बर–३ को प्रमुखमा सिफारिस भएकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । बेचिएकी चेलीको उद्धार गर्दै आएकी कोइरालाको पुख्र्यौली थलो ओखलढुंगाको रुम्जाटार हो ।

    सन् २०१० को सीएनएन हिरोज्को अवार्ड प्राप्त गरेकी कोइरालाले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छन् । तत्कालीन शाही सरकारमा सहायक मन्त्री बनेकी उनी पछिल्लो संसदीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

    यसैगरी, प्रदेश नम्बर–४ को प्रदेशप्रमुखमा सिफारिस भएका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् ।

    अर्घाखाँची स्थायी घर भएका कुँवर कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्षसमेत हुन् । कुँवर सुशील कोइराला सरकारको पालामा महान्यायाधिवक्ता बनेका थिए ।

    प्रदेश नम्बर–५ को प्रदेशप्रमुखमा सिफारिस भएका उमाकान्त झा पूर्वस्वास्थ्यसचिव हुन् । उनी खिलराज रेग्मीको मन्त्रिपरिषदमा मन्त्रीसमेत बनेका थिए । झा राजपा नेपाल अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

    यस्तै, प्रदेश नम्बर–६ को प्रदेशप्रमुुखमा सिफारिस भएका दुर्गाकेशर खनाल बुद्धिजीवी हुन् । सुर्खेतका खनाल बहुदल आएपछि कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बनेका थिए ।

    ७ नम्बर प्रदेशका प्रदेशप्रमुखमा सिफारिस भएका कैलालीका मोहनराज मल्ल राजनीतिज्ञ हुन् ।

    राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य थिए । उनी केही वर्षअघि कांग्रेस प्रवेश गरेका थिए ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने प्रदेशप्रमुखले संविधानबमोजिम नेपाल सरकारको प्रतिनिधिकोरुपमा कार्य गर्दछन् ।

    राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै पदमुक्त गरेमाबाहेक प्रदेशप्रमुखको पदावधि ५ वर्षको हुने संवैधानिक व्यवस्था छ ।

     

     

     

    Image

    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology