इन्टरनेट महंगो हुँदाका ५ फाइदा !

मिलन तिमिल्सिना

दिनरात फेसबुक, ट्विटर, इन्स्टाग्राम र अनेक सञ्जालमा झुण्डिने बानी परेकालाई खुच्चिङ ! खुरुखुरु कामधन्दा गर्न छाडेर खाली कम्प्युटर र मोबाइलमा इन्टरनेट चलाउनेलाई ठेगान लगाउन ईन्टरनेटमा लगाएको भ्याट र भ्याटको दायरा बढाउने सरकारलाई सलाम  !

अब इन्टरनेट महंगो भयो । जो पायो त्यसैले, जुनबेला चाह्यो त्यहीबेला इन्टरनेट चलाउन सक्दैन । खर्चले धान्न नसकिने भयो भनेर कतिले त बन्दै गर्लान् । कतिले पैसा अड्कलेर चलाउनै परेको बेलामा मात्रै इन्टरनेट खोल्लान् ।

इन्टरनेट धेरै चलाउन नपाउने भएपछि मान्छेले बल्ल काम पाउने भए । दिनरात आँखा झिमिक्क नगरी कम्प्युटर र मोबाइलमा झुण्डिनेहरुले काम पाएपछि बेरोजगारीको अन्त्य हुने भयो । सबै रोजगार भएपछि देशमा समृद्धि आउने भयो । इन्टरनेट किन्न बिदेसिने रकम बचत हुने भयो ।

भक्तपुरको बाढीमा गाडी गुडेका फोटो राखेर ल आयो पानीजहाज भनेर धेरैले फेसबुकमा फोटो राखे । सांसद महेश बस्नेतलाई कम्ता रिस उठेन । धन्न उहाँले संसदमा मात्रै रिस पोख्नुभयो । उहाँको कुरा सुनेर सरकारले फेसबुकमा पानीजहाज भन्ने सबैलाई थुनेको भए के हुन्थ्यो ?
नेपालीको बानी सुधारेर नेपालमा आर्थिक समृद्धि ल्याउने महान उदेश्यले सरकारले इन्टरनेट महंगो बनाएको हो । यस्तो कुरा नबुझेर सबैले सरकारलाई गाली मात्र गरेका छन् । तपाईं पनि सरकारलाई गाली गर्दै हुनुहुन्छ भने चिन्ता गर्न छोडेर इन्टरनेट महंगो हुँदाका ५ फाइदा गम्भीर भएर बुझ्नु होस् । इन्टरनेट महंगो हुँदा देशलाई निम्नलिखित ५ वटा फाइदा हुनेछन् :

१.साइबर क्राइमबाट बचिन्छ

इन्टरनेट सस्तो भएर जसले जुनबेला पनि चलाउने भएकाले साइबर क्राइम बढेको छ । इन्टरनेट सस्तो भएकाले मान्छेले फेसबुकमा सस्ता कुरा लेख्छन्, सस्ता फोटा खिच्छन् र सस्ता पोष्ट गर्छन् । नेपालमा सबैभन्दा सस्तो कुरा सरकारलाई गाली गर्ने हो, किनभने सरकारका मन्त्रीले नेपालमा सबैभन्दा सस्ता भाषण गर्छन् ।

सरकारले गर्ने सस्ता भाषणलाई गाली गरेर फेसबुकमा जथाभावी टिप्पणी गर्नेहरु धेरै छन् । सरकारले अघि सारेका पानीजहाज, रेलको फोटो राखेर उडाउने र पुर्न नसकेका खाल्डा देखाएर सरकारलाई उडाउने काम इन्टरनेटबाट भैरहेको छ ।

भक्तपुरको बाढीमा गाडी गुडेका फोटो राखेर ल आयो पानीजहाज भनेर धेरैले फेसबुकमा फोटो राखे । सांसद महेश बस्नेतलाई कम्ता रिस उठेन । धन्न उहाँले संसदमा मात्रै रिस पोख्नुभयो । उहाँको कुरा सुनेर सरकारले फेसबुकमा पानीजहाज भन्ने सबैलाई थुनेको भए के हुन्थ्यो ? धन्न अहिलेसम्म सरकार चुप लागेको छ । यसरी फेसबुकमा सरकारलाई गाली गर्नेहरु कुनै दिन साइबर क्राइमको फन्दामा पर्न के बेर ? मान्छेहरु फन्दामा नपरुन् भनेर सरकार अहिलेदेखि नै सजग भएको हो ।

फेसबुकमा उडाउने कुरा मात्र हो र ? नेताहरुका फोटो जोडेर, बिगारेर जे पायो त्यही लेख्नेहरु पनि धेरै छन् । यस्तालाई पक्राउ र कारबाही गरेर मात्र साध्य लाग्दैन । यस्तो सस्तो कुरा लेख्ने र फोटो राख्ने कामको नै नियन्त्रण गर्न आवश्यक भैसकेकोले सरकारले जरामै बञ्चरो चलाएको छ ।

इन्टरनेट मंहगो भएपछि फेसबुक चलाउने कम हुन्छन् । फेसबुक चलाउने नै कम भएपछि सरकारलाई गाली गर्ने र नेताहरुको नाममा जे पायो त्यही लेख्ने प्रवृत्ति कम हुन्छ । साइबर क्राइम घट्छ र साइबर क्राइम नियन्त्रण गर्न खटिएका प्रहरीले दिनैपिच्छे मन्त्रीलाई सलाम ठोक्ने मौका पाउँछन् ।

२. जागिर जाने डर हुँदैन

हिजोआज सबै कार्यालयका कर्मचारीलाई फेसबुक चलाउने बानी भैसकेको छ । बिहान कार्यालय पुगेर कम्प्युटरमा फेसबुक हेरेपछि मात्र कमचारीको दैनिकी सुरु हुन्छ ।

धेरै कार्यालयमा त काम गर्ने अवधिभर फेसबुक चलाउन नपाइने नियम पनि छ । तर हाकिमको आँखा छलेर कर्मचारीले आफ्नो मोबाइलमा फेसबुक हेरेकै हुन्छन् । काम चोरेर र लुकीलुकी फेसबुक हेरेर दिन कटाएको हाकिमले थाहा पाए भने जागिर चट हुन सक्छ ।

अब इन्टरनेट महंगो हुने भएपछि यसरी काम चोरेर लुकीलुकी फेसबुक हेर्ने प्रवृत्ति पनि रोकिन्छ । कार्यालयमा फेसबुक हेर्ने प्रवृत्ति रोकिएपछि फेसबुककै कारण जागिर चट हुन पाउँदैन । धेरै कर्मचारीको जागिर जोगिन्छ । सबैलाई रोजगारी दिने र रोजगारीबाट हात धुनुपर्ने अवस्थाको अन्त्य गर्नकै लागि सरकारले इन्टरनेट महंगो बनाएको हो ।

३. श्रीमान–श्रीमतीको झगडा रोकिन्छ, सम्बन्ध विच्छेदको अन्त्य हुन्छ

इन्टरनेटका कारण घरघरमा झगडा बढेको छ । श्रीमान आफ्नो मोबाइलमा मस्त, श्रीमती आफ्नो मोबाइलमा व्यस्त । श्रीमानको गर्लफ्रेन्ड, श्रीमतीको ब्वाइफ्रेन्ड । सँगै बस्दा पनि श्रीमान यता फर्केर च्याट गर्छ, श्रीमती उता फर्केर च्याट गर्छे ।

‘हाई, हेलो, वा…उ, क्या क्युट, भोलि भेट्ने ल..’.दुवैले यस्ता कुरा गर्न थालेपछि कतिका घरमा मारमुङ्ग्री भैसकेको छ । श्रीमान–श्रीमतीबीच बोलचाल बन्द छ । फेसबुककै कारण कतिपय जोडीको सम्बन्ध विच्छेद भएको छ । यो सबै इन्टरनेट सस्तो भएका कारणले भएका घटना हुन् ।

अब इन्टरनेट महंगो भएपछि श्रीमान श्रीमतीले जथाभावी फेसबुक चलाउँदैनन् । पिठ्युँ फर्काएर अर्कोसँग फेसबुकमा कुरा गर्दैनन् । सम्बन्ध सुमधुर हुन्छ । परिवारमा खुशीयाली छाउँछ । दम्पतीहरु समयमै सुत्छन् । मायाप्रीति बढाउँछन् । समयमै बालबच्चा पैदा गर्छन् र हुर्काउँछन् । परिवारमा खुशी बढ्छ ।

खुशी सुखसित प्रत्यक्ष जोडिएको कुरा हो । खुसी र समृद्धि एक अर्काका परिपूरक हुन् । त्यसैले इन्टरनेट महंगो बनाउँदा पारिवारिक सुख बढ्छ र नेपालमा चाँडै समृद्धि बढ्छ ।  ।

४. कच्चा प्रेम बस्ने सम्भावना हुँदैन

हिजोआज फेसबुके प्रेम गाउँगाउँमा समेत मौलाएको छ । मान्छे देखेको हुँदैन, फेसबुकमा भएको राम्रो फोटो हेरेर उन्ले उस्लाई र उस्ले उन्लाई मन पराउँछ ।

च्याटमा एकअर्काका रमाइला कुरा सुनेर दुबैको मनमा प्रेम रस बग्न थाल्छ । प्रेमरस टाउकाबाट क्रमशः तल झर्दै गएपछि टाउकाले सोच्ने काम बन्द गर्छ । त्यसपछि कताको घर, कताको थर, सँगै जिन्दगी कटाउँदा के कति हुन्छ भर भन्ने केही सोच्दै नसोची फेसबुकबाटै माया बस्छ । बिहेसम्मको कुरा छिनोफानो हुन्छ ।

भेट हुने बेला उसलाई देखेर उनी छक्क, उनलाई देखेर उ छक्क । कहाँको फोटो, कहाँको मान्छे ! छेउटुप्पा कतै मिलेको हुन्न । हुनै लागेको बिहे भाँडिन्छ ।

मन पराएर बिहे नै भैहाल्यो भने पनि फेसबुके प्रेम फोटोमा वर्षिएको लाइक जस्तो दमदार हुँदैन । फेसबुकबाटै प्रेम भएर घरबार बिग्रिएका र अलपत्र परेका उदाहरण धेरै छन् । युवायुवतीलाई यसरी प्रेममा परेर अलपत्र हुनबाट जोगाउन र भविष्यमा हुनसक्ने पारिवारिक विखन्डन रोक्न सरकारले इन्टरनेट महंगो बनाएको हो ।

५. केटाकेटीको बानी सपार्छ

इन्टरनेटले ससाना केटाकेटीको पनि बानी बिगारेको छ । राम्ररी दूध चुस्न पनि नजानेको बच्चा इन्टरनेटमा गेम नहेरी भात खान मान्दैन । आमाले गेम देखाउँदै भात खुवाउँछिन्, बच्चा अघाएपछि त्यही मोबाइलमा फेसबुक चलाएर दंग पर्छिन् ।

स्कुले केटाकेटी इन्टरनेट चलाउन नपाउँदासम्म होमवर्क गर्दैनन् । बेलुका स्कुलबाट आएपछि पनि इन्टरनेट, बिहान स्कूल जान अबेर हुँदा पनि इन्टरनेट । बाबुआमा आफैं इन्टरनेटले बिग्रन लागिसके, छोराछोरी कसरी तह लगाउन सकून् ?

बाबुआमाले नसकेपछि कि छिमेकीले बच्चा तह लगाउन पर्यो, कि सरकारले । छिमेकीलाई पनि उही इन्टरनेटले बिगारेको छ । त्यसैले इन्टरनेट महंगो बनाएपछि बावुआमा, छोराछोरी र छिमेकी सबै एकसाथ सप्रिन्छन् भनेर सरकार यस शुभकार्यमा अघि सरेको हो ।

इन्टरनेट महंगो भएपछि घरघरमा अहिलेजस्तो गेम खेल्ने कम हुन्छन् । अनि विद्यार्थीको बानी पनि सप्रिन्छ । लेखपढमा ध्यान दिन्छन् । बाबुआमाले भनेको मान्छन् । यस्ता केटाकेटी असल हुन्छन् । यस्तै असल केटाकेटीले भोलि देश बनाउँछन् । अनि देशमा समृद्धि आउँछ, सबै सुखी र खुशी हुन्छन् ।

मैले सर्सती गम्दा तत्काल देखेका फाइदा हुन् यी पाँचवटा । तर सरकारले यस्का अरु धेरै फाईदा देखेको होला भन्ने म अल्पज्ञानीको बुझाई छ । इन्टरनेट महंगो हुँदाको फाइदा म जस्तो अल्पज्ञानीका दिमागमा त यति धेरै चढे भने तपाई बुझ्दै नबुझी सरकारलाई किन गाली गरेर समय खेर फाल्नुहुन्छ ?

इन्टरनेटमा खेर फाल्ने समय अब देश र नागरिकको भलो चाहने, नागरिकको दुःख हटाउन समृध्दिको बाटोमा दौडिन थालेको सरकारको जयगानमा खर्च गर्नुहोस् र अब भन्नुहोस् जय होस् सरकारको । जय होस् इन्टरनेटमा मूल्यबृध्दिको !

आइत, साउन ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

सामाजिक संजालबाट बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

वासुआविमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न

दुहागढी । भुकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयमा भुकम्प सुरक्षा सम्वन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको...

कमल नगर जेसीजमा न्यौपाने

कमल,२ माघ । यहाँस्थित कमलनगर जेसीजको अध्यक्षमा शेखरनाथ न्यौपाने चुनिएका छन् । हालै सम्पन्न शाखा अधिबेशनबाट बर्ष २०१९ का लागि न्यौपानेको अध्यक्षतमा समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको कार्यकारी उपाध्यक्षद्धयमा छत्रपति खनाल,नारायण वस्नेत,चार...

शेर्मालाई एक लाख बढी सहयोग

पथरी,२ माघ । दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका मोरङ, पथरीशनिश्चरे–९का ३९ बर्षिय विरबहादुर शेर्मालाई एक लाख १हजार पाँच सय रूपैयाँ सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका शेर्मालाई देश–विदेशमा...

वीएण्डसीका सञ्चालक प्रसाईंलाई कारवाहीको माग

इलाम,२ माघ। इलाममा अनशनरत डा.गोविन्द केसीका मागप्रति असन्तुष्ट रहेका वीएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंले पत्रकारलाई धम्काएको प्रति पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियनले आपत्ति जनाएको छ । प्रसाईले कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायतका...

एम्बुलेन्स नचल्दा सेवाग्राही मारमा

ताप्लेजुङ, २ माघ । जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्काे एम्बुलेन्स...

झापाको काँकरभिट्टामा सवारी दुर्घटना हुँदा एकको मृत्यू ।

बिर्तामोड । झापाको काँकरभिट्टामा आज साझँ सवारी दुर्घटना हुँदा एकको मृत्यू भएको छ । बेलुका ७ बजे मेचीनगर ६ पालिया खोला छेउ राजमार्गमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम...

नमुना बाल गृहलाई न्यानो कपडा

दमक,१ माघ । झापाको दमकमा रहेको पशुपति आध्यात्मिक महिला समूहले आज उर्लाबारी स्थित नमुना बाल गृहलाई न्यानो कपडा बितरण गरेको छ ।पशुपति आध्यात्मिक महिला समूहले आज एक कार्यक्रमका वीच नमुना बालगृहलाई ३५ हजार मुल्य...

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ : मन्त्री कार्की

 गौरादह,१ माघ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकार दृढ रहेको बताएका छन् । आज झापाको गौरादहमा पत्रकार भेटघाटमा मन्त्री कार्कीले प्रदेश सरकारले प्रदेश...

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...