परम्परागत मान्यताका पछाडि लुकेका छन् रहस्य

थाहा पाउनुहोस् वैज्ञानिक कारण

हाम्रो दमक

बिर्तामोड । ‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं । ‘सन्को भाँच्दै बस्नु हुँदैन’ बुढाहरुले सजग गराउँदा हामी त्यसलाई कतिपनि पत्याउँदैनौ ।

तर, हाम्रा पितापूर्खाको मनगडन्ते कुरा हुन् यी ? अन्धविश्वास हुन् ? आडम्बर हुन् ?

सोचौं त, किन उनीहरुले यसो भने होलान् । विज्ञान र प्रविधिको युगमा बाँचिरहेका हामीलाई बुढाहरुको यस्तो कुरा वाहियात लाग्छ । हामी ठान्छौं, ‘बुढाहरुलाई केही थाहा छैन । अन्धविश्वासका कुरा गर्छन् ।’ यद्यपी हामीले कहिल्यै मनन गरेका छौं ? उनीहरुले किन यसो भने । यसको पछाडि केही कारण पो होला कि ?

वास्तवमा हाम्रा पिता पूर्खाले जुन प्रचलन स्थापित गर्न खोजे, त्यसको पछाडि ढोंग वा भ्रम छैन । बरु वैज्ञानिक कारण छ । उनीहरुले त्यसै यस्ता कुराहरु भनेनन्, जो हाम्रो व्यवहारिक जीवनका लागि उपयोगी छैन ।

रुढिवादी होइन, वैज्ञानिक

हाम्रो समाजमा त्यस्ता धेरै धार्मिक मान्यता प्रचलित छन्, जसपछाडिको मूल कारण धर्मभन्दा बाहिरको छ तापनि तिनलाई समाजले धर्मकै नाममा  स्थापित वा प्रचलित गरेको छ । देश, काल एवं परिस्थितिगत व्यवस्था तथा सामाजिक कल्याणका उद्देश्यले प्रचलित त्यस्ता मान्यतालाई आजको सन्दर्भमा वैज्ञानिकताको कसौटीमा राखेर हेर्नु आवश्यक छ ।

आजको तार्किक पुस्तालाई धर्मप्रति विश्वास जगाउन तथा पुराना चालचलन जति सबै रुढिवादी हुन् र ती त्याज्य छन् भन्ने भ्रम हटाएर व्यक्तिगत एवं सामाजिक कल्याणको माध्यम बनाउनु आवश्यक छ ।

यहाँ त्यस्ता केही सामाजिक मान्यताहरुको चर्चा गरिएको छ जसलाई स्थापना त धर्मको नाममा गरियो तर तीमध्ये अधिकांशको मूल उद्देश्य सामाजिक कल्याण नै थियो । यसैगरी कतिपय मान्यता पौराणिक आदर्शको अनुकरणका कारण समेत भएको पाइन्छ ।

साँझमा नबढार्नु, सिसा फुट्नु, फुटेको ऐना नहर्नु, सुन हराउनु, गर्भवती महिलाले खोलो तर्नु, दैलोमा नबस्नु, गोडा खापेर नबस्नु आदि कुराका पछाडि यही रहस्यले काम गरेको छ । हेरौँ केही मान्यता र ती पछाडिको कारण:

राती किन नबढार्नु ?

साँझ तथा रातको समयमा कुचो लगाउनु अशुभ मानिन्छ । आजसम्म पनि कतिपय घरमा यो प्रचलनलाई दृढतापूर्वक पालन गरिन्छ । यसपछाडिको धार्मिक मान्यता के छ भने राति कुचो लगाउँदा लक्ष्मी अर्थात् सम्पन्नताबाट टाढा भइन्छ । यसको वैज्ञानिक एवं व्यावहारिक पक्ष केलाउँदा के अनुमान लगाउन सकिन्छ भने प्राचीन समयमा बिजुली बत्तीको व्यवस्था थिएन । टुकी, दियालो, लालटिन आदि बाल्दा अहिलेको जस्तो पर्याप्त उज्यालो आउँदैनथ्यो ।

मधुरो प्रकाशमा बढार्दा यदाकदा घरबाट महत्वपूर्ण वस्तु हराउने सम्भावना रहन्थ्यो । फोहोरसँगै मूल्यवान् सामान हराउनसक्ने सम्भावनामाथि विचार गरी बढार्न नै रोक लगाइयो । मूल्यवान् वस्तु लक्ष्मी अर्थात् सम्पन्नता प्रदान गर्ने वस्तु भएकाले राती बढार्दा लक्ष्मीले छाड्छिन् भनेर धार्मिकताको जलप लगाई बढार्न रोक लगाइयो ।

सिसा फुट्नु

सिसा फुट्नुलाई पनि अशुभ मानिन्छ । यसका पछाडि लुकेको वास्तविक कारण केलाउँदा के देखिन्छ भने यो मानिसको कुशलतासँग जोडिएको छ ।

सिसा फुटेर भुइँमा छरिएपछि त्यसका मसिना कण जतिसुकै सफा गरे पनि भुइँमै टाँसिएर रहनसक्छन् । यसबाट परिवार तथा आगन्तुक व्यक्तिलाई त्यो कण बिझ्ने डर भइरहन्छ । खासमा पहिलेका घरहरुमा अहिलेको जस्तो ढलान, टायल, मार्बल आदिको चलन थिएन, भुइँमा माटो अथवा गोबरले लिपिएको हुन्थ्यो जसमा सिसाका कण सजिलैसँग टाँसिएर रहनसक्थे ।

त्यसले ठूलै समस्या निम्त्याउनसक्ने भएकाले धर्मको डर देखाएर सिसा फुट्यो भने अलच्छिन लाग्छ भन्दै मानिसलाई सचेत तुल्याउने काम गरिएको देखिन्छ । तसर्थ मानिसहरु सावधान रहून् र चोटपटक लाग्नबाट जोगियून् भन्ने मान्यताका साथ यसलाई अशुभ मानिएको हो भन्न सकिन्छ ।

सुन हराउनु

हाम्रो समाजमा सुन हराउनुलाई आज पनि अत्यन्त अशुभ मानिन्छ । सुनमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ, तसर्थ सुन हराएपछि लक्ष्मीले छाडेर जान्छिन् भनेर विश्वास गरिन्छ । वास्तवमा सुन सर्वकालीन बहुमूल्य धातु हो ।

यो आकर्षक धातु मात्र नभई सम्पन्नताको प्रतीक समेत हो । आर्थिक संकट परेका बेला सुनलाई प्रयोगमा ल्याएर संकट निवारण गर्न सकिन्छ । पैसाको आखिरी परेका समयमा सुन छ भने सजिलै बन्धकी राखेर पैसा निकाल्न सकिन्छ ।

यस्तो बहुमूल्य धातु हराउनु निश्चय पनि  ठूलो आर्थिक हानि हो । यही तथ्यलाई दृष्टिगत गरी सुनलाई संरक्षित गर्ने उद्देश्यका साथ सुन हराउनु अशुभ हुन्छ भन्ने धार्मिक मान्यताको विकास गराएको बुझिन्छ ।

जुठोसुतक

धार्मिक मान्यताको कुरा गर्दा जुठोसुतकलाई भुल्न मिल्दैन । घरमा कसैको मृत्यु हुँदा जुठो तथा जन्म हुँदा सुतक बार्ने प्रचलन छ । जुठोसुतक बार्नुका पछाडि विशेष रुपले स्वच्छता एवं संक्रमणबाट जोगिने उद्देश्य रहेको पाइन्छ ।

गर्भवतीले नदी पार गर्नु

गर्भवतीले नदी पार गर्नु अशुभ मानिएको छ । यसका पछाडि सुरक्षा चासो जोडिएको पाइन्छ । प्राचीन समयमा साँघु, पुल आदिको व्यवस्था थिएन तसर्थ उतिबेला हिँडेर, पौडेर वा डुंगा आदिमा बसेर नदी पार गर्नुपर्ने हुन्थ्यो जसबाट दुर्घटनामा पर्ने सम्भावना पनि बढी हुन्थ्यो । महिलाका लागि संवेलनशील यो अवस्थामा जोखिम मोल्दा आमा तथा शिशु दुवैको ज्यान खतरामा पथ्र्यो । त्यसबाट जोगिन वा गर्भवतीको सुरक्षालाई दृष्टिगत गरी गर्भवतीले खोला तर्नुहुँदैन भन्ने धार्मिक मान्यता स्थापित गरिएको पाइन्छ ।

दैलोमा बस्नु

घरको दैलो वा ढोकाको संघारमा बस्नुलाई अशुभ मानिन्छ । यसो गर्नाले आयु क्षीण हुन्छ भनिन्छ । यसका पछाडि अन्य ठोस कारण भन्दा पनि पौराणिक मिथकलाई आधार बनाइएको पाइन्छ । भगवान् विष्णुले नृसिंह अवतार लिई हिरण्यकशिपुको वध गर्दा उसलाई दैलोमा राखेर काखमा लिई नंग्राले छाती चिरेर मारिएको थियो । यसैलाई आधार बनाएर दैलोमा बस्नु हुँदैन भनिएको देखिन्छ ।

उपरखुट्टी लगाएर सुत्नु

उपरखुट्टी लगाएर सुत्दा पनि आयु क्षीण हुने सामाजिक मान्यता छ । यसका पछाडि पनि पौराणिक सन्दर्भ गाँसिएको देखिन्छ । कथाअनुसार भगवान् कृष्णको गोडामा मणि थियो जुन सदैव चम्किरहन्थ्यो । एक दिन कृष्ण जंगलछेउको चौरमा उपरखुट्टी लगाएर सुतिरहेका बेला सिकार खेल्न आएको व्याधाले टाढाबाट देख्यो ।

उसले चम्किरहेको वस्तु हरिणको आँखा होला भन्ने ठानेर निशाना साध्यो । व्याधाले हानेको वाण आएर कृष्णको गोडा छेड्यो । यसैलाई कारण बनाएर कृष्ण गोलोकधाम गए । यसैलाई आधार बनाएर के भन्न थालियो भने उपरखुट्टी लगाएर सुत्यो भने आयु घट्छ ।

शुक्र, असार २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

पालामद्धारा मृगौला रोगी नेम्बाङलाई सहयोग

दमक,२ साउन / ‘पालाम’ मिम्जीफूङ म्यूजिक भिडीयो यूनिटले पाँचथर,फाल्गुनन्दका मृगौला रोगी सुन्दर नेम्बाङको उपचारका लागि १५ हजार १ रुपैया सहयोग गरेका छन् । दमकमा बुधबार एक कार्यक्रमका गरि म्यूजिक भिडीयोका यूनिटले विरामीका आफन्तलाई सो सहयोग...

पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे

पर्वत । भीषण वर्षापछि स्थानीय लस्तीखोलामा आएको बाढीले किनार कटान गर्दै घर बगाउदा पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् । खोलाले किनारमा रहेको बमबहादुर परियार लगायत स्थानीयको घर बगाएको हो ।...

मृगौला रोगी सविताद्धारा सहयोगको याचना

दमक, २ साउन / दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसंग आग्रह गरेकी...

आइओएमले दियो दमक क्याम्पसलाई बस

दमक,२ साउन / अन्तर्राष्ट्रिय आप्रबासी संगठन ( आईओएम )ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई बोक्नको लागी आईओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य...

राप्रपाको प्रदेश १ समिति विस्तारित

मोरङ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले प्रदेश अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश...

पहिलो महिला संकराचार्य हेमानन्द गिरी सम्मानित ।

चारआली । पहिलो महिला संकराचार्य हेमानन्द गिरी महाराजलाई झापाको चारआलीमा सोमबार अभिनन्दन गरिएको छ । पाउ पाथिभरा मन्दिर समितिले मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच शंकराचार्य गिरीलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष हरिचरण बानिया...

स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक ।

दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले गत फागुनमा सम्पन्न स्वर्ण महोत्सव कार्यक्रमको आय–व्यय सार्वजानिक गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच प्रधानाध्यापक विश्व थापाले आय व्यय सार्वजानिक गर्दै पूर्व विद्यार्थी...

झापा गोल्डकपको नाफा १९ लाख, मेस्सी होइन एम्बाप्पे जन्माइने अध्यक्षको भनाई

बिर्तामोड । गत फागनुमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकप २०७४ मा आयोजकले करिब १९ लाख रुपैयाँ बचत गरेको छ । गोल्डकपको मुल आयोजक समितिले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गर्दै १९ लाख रुपैयाँ...

तराईमा गर्मी बढेसंगै सर्पको त्रास पनि बढ्दै

दमक । तराईमा गर्मी बढेसंगै सर्प दंसको त्रास पनि बढ्दै गएको छ । बर्षादका समयमा सर्पका बासस्थान पानीले भरिने र बढि तातो हुन थाले पछि यो समयमा सर्प जमिन बाहिर निश्कने गर्दछन । तराईका...

छोरा मोटरसाइकल चलाउने, कारवाही भोग्ने बाबु !

काठमाडौं । लाइसेन्सविना मोटरसाइकल वा स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको त सबैले सुन्ने गरेकै हो । तर, लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनेमाथि समेत ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । ललितपुरमा केहीदिन अघि...